Header Ads

मोहन शमशेर भारतको औपचारिक भ्रमण गर्ने ‘प्रथम प्रधानमन्त्री’

भाद्र ३०, २०७३- छ महिनाको अन्तर पारेर दक्षिणी छिमेकीको औपचारिक भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल निस्केका बेला धेरैतिर चासो उब्जिएको जिज्ञासा छ— नेपालबाट औपचारिक निम्तोमा भारत भ्रमणमा जाने पहिलो प्रधानमन्त्री को थिए होलान् ? ‘ती ऐतिहासिक प्रधानमन्त्री थिए– मोहन शमशेर जंगबहादुर राणा । राणा खलकमा जन्मे–हुर्केर पछि भिन्न राजनीतिक र बैचारिक दृष्टि राख्दै भारत प्रवासमा गएका साहित्यकार जगदीश शमशेर राणाले भने, ‘तर, ती राणा प्रधानमन्त्रीको भारत भ्रमण र त्यसबेला देखाएको कुटनीतिक चातुर्य कहींकतै चर्चामा छैन ।’ २०१७ सालपछि हिमान्चलको सिमलामा बसोबास गर्दै आएका ८७ बर्षीय राणाले सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपालको राजनीतिमा परेको प्रत्यक्ष/परोक्ष प्रभावको केन्द्रमा ‘राणा शासनका अन्तिम शासकहरु’ रहेको बताउँदै आएका छन् । ‘खासमा मोहन शमशेरको शासनकाल (सन् १९४८–५१) भन्दा अगाडीका शासक पद्म शमशेर (१९४५–४८) ले पनि व्यक्तिगत तवरमा दिल्लीको भ्रमण गरेका थिए । तर, भारतमा नेता नेहरुलाई भेट गर्न र व्यक्तिगत तवरमा शासकीय प्रभाव बढाउनमा मात्रै उनको भ्रमण केन्द्रित थियो,’ जगदीशले सुनाए— ‘पद्म शमशेरकै पालामा नेपालको पहिलो संविधान जारी भएको थियो । ६८ धारामा बनिएको संविधानको सर्वाधिकार श्री ३ महाराज (प्रधानमन्त्री) मा थियो ।’ १९४७ मा भारत स्वतन्त्र भैरहेका बेला त्यहाँ पनि आफ्नै समस्या थियो । अनेक विविधताका ५ सय राज्यलाई गाभेर ‘एक भारत’ बनाउने ध्याउन्नमा लागेका भारतीय नेताले आसपासका मुलुकसँग सहज र सुमधुर सम्बन्ध बनाउन सन्धी/सम्झौताको पहल गरेका थिए । राणाका अनुसार, प्रधानमन्त्री मोहन शमशेरसँग पहिलोपटक दिल्ली भ्रमणताका नेपाल–भारत मैत्री सन्धीका बारे छलफल सुरु भएको थियो । त्यस्ता छलफलमा नरेन्द्रमणि सरदार र भिमबहादुर पाँडे आदि साथै हुन्थे । ‘दुई देशका नागरिक एकअर्को देशमा स्वतन्त्र आवतजावत, भिसा नचाहिने जस्ता प्रबन्ध त्यहीबेला तय गरिएको थियो,’ राणा सम्झन्छन्, ‘पछि नेपाल फिरेर १९५०, जुलाइ ३१ मा नेपाल–भारत मैत्री सन्धीमा काठमाडौंमा द्धैपक्षीय हस्ताक्षर भएको थियो ।’ राणाका अनुसार, मैत्री सन्धीका प्रावधानबारे कुराकानी भैरहेका बेला भारतका तर्फबाट सुरजित सिंह मजिथिया काठमाडौंमा राजदूत थिएभने पछि भारत सरकारका विश्वासपात्र चन्द्रेश्वरप्रसाद नारायण सिंहलाई सन्धी हस्ताक्षर गर्ने बेलामा राजदूत बनाएर पठाइएको थियो । यो सन्धीको बहस चलिरहेका बेला नेपालका तर्फबाट दामन शमशेर दिल्लीमा राजदूत थिए । ‘प्रधानमन्त्री मोहन शमशेर भारत जाने भएपछि उनले थानकोट(चन्द्रागिरी)को बाटोबाट जान नचाहने अड्को थापेका थिए । आफू पिताजी(चन्द्र शमशेर) हिंडेको बाटोबाट मात्रै जान्छु भन्दै मोहन शमशेर दक्षिणकाली (फर्पिङ) को बाटोबाट गएका थिए । त्यहाँबाट सिधै गौर (चन्द्रनिगाहपुर) हुँदै रेलबाट पटना गएका थिए । पटनाबाट दिल्ली जाने क्रममा पनि ट्रेन स्टेशनको बिशेष उत्रने व्यवस्था गरिएको थियो’, जगदीशले सुनाए— ‘मोहन शमशेर दिल्ली पुगेर कर्नाड प्लेसको मुन्तिरको स्टेशनमा उत्रिएका थिए जसलाई जर्ज पाँचौंले पनि दिल्ली–प्रवेशमा प्रयोग गरेका थिए । फेरि दिल्ली उत्रनुअघि ‘म कुनै राज्यको शासक होइन, देशको प्रधानमन्त्री हुँ । मलाई अरुहरुलाई दिइनेभन्दा २ तोप बढीको सलामी चाहिन्छ भनेपछि त्यस्तै गरिएको थियो ।’ अरु राज्यरजौटाका राजा अथवा प्रमुखलाई भने त्यसबेला १९ तोपको सलामी दिने गरिन्थ्यो, मोहन शमशेरले भने २१ तोपको सलामी पाएका थिए । दिल्ली उत्रिएपछि ‘म आफ्ना बुबाको दर्शन गरेर मात्रै औपचारिक भेटघाटमा जानेछु’ भनेर अड्को थापेपछि प्रधानमन्त्री मोहन शमशेरलाई देहरादून लगिएको थियो जहाँ उनका काकाबाबु जुद्ध शमशेर (साधुसन्त बनेर) निर्वासनमा गएका थिए । त्यसरी शासन त्याग गरिसकेका नेपालको प्रधानमन्त्रीसँग वर्तमान प्रधानमन्त्रीले भेटघाट गर्न चाहनुले मोहन शमशेर भ्रमणको झनै उचाइ बढेको थियो । ‘अहिले भने कति सदस्यीय प्रतिनिधीमण्डल भ्रमणमा पुग्छ भनेर काउन्ट–डाउन मात्रै हुने गरेको छ,’ बिगतमा नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्यसमेत रहेका राणाले भने—‘तर उपलब्धी अथवा कुटनीतिक अडानका बारेमा भने त्यति बहस हुने गरेको पाईदैन ।’ राणाले सन् १९५० को सन्धीलाई समयानुकुल र अद्यावधिक गराउनु उपलब्धीमूलक हुने भएपनि यही सन्धीको आडमा द्धैदेशीय मैत्री तथा सहज आवागमन रहिआएको तथ्यलाई भने भुल्न नमिल्ने बताए ।

No comments

Powered by Blogger.