Header Ads

‘अबको लक्ष्य विश्वकप’

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अबको लक्ष्य ५० ओभर विश्वकप खेल्ने भएको बताएका छन्।





यद्यपि विश्वकप खेल्ने लक्ष्य पूरा गर्न नेपाली क्रिकेटले व्यावसायिक ‘सेट अप’ मा लानु आवश्यक रहेको धारणा उनले व्यक्त गरे। जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामार्फत पहिलो पटक एकदिवसीय टोलीको मान्यता पक्का गर्दै सोमबार स्वदेश फर्किएका कप्तान पारसले नेपाली क्रिकेटलाई अहिलेको अवस्थाबाट अघि बढाउने जिम्मेवारी सम्बद्ध सबै पक्षको भएको पनि बताए।‘हामीले पहिलो पटक एकदिवसीय टोलीको मान्यता पाएका छौं। हाम्रो अबको उद्देश्य भनेको ५० ओभरको विश्वकप हो। हामीले अब आगामी ८÷१० वर्षमा टेस्ट टोलीको मान्यता पाउने गरी खेल्नुपर्छ’, पारसले भने, ‘यद्यपि त्यसअघि नेपाली क्रिकेटलाई प्रोफेसनल सेट अपमा लानु आवश्यक छ। नेपाली क्रिकेटलाई अघि बढाउने जिम्मेवारी सबैको हो। त्यसमा खेलाडीले जिम्मेवारी पूरा गरिरहेका छन्। अब क्रिकेटलाई कसरी लैजाने भन्ने जिम्मेवारी देशलाई पनि आएको छ।’कप्तान पारसले एकदिवसीय टोलीको मान्यता नेपाली क्रिकेट विकासका लागि निकै महत्वपूर्ण भएको बताए। ‘हामीले एकदिवसीय टोलीको मान्यता विश्वकपसम्म पुग्नकै लागि पाएका हौं’, पारसले भने, ‘यो अवसरको सदुपयोग गर्न घरेलु क्रिकेटको संरचनामा सुधार ल्याउनै पर्छ। खेलाडीको जीविकोपार्जन र भौतिक पूर्वाधार वृद्धिका विषयमा पनि सोच्नै पर्छ।राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले पनि अबको चार वर्ष नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण रहेको बताए। ‘हामीले यसअघि पनि टीट्वेन्टी टोलीको मान्यता पाएका थियौं। तर, त्यसबेला हामीले के गर्‍यौ भन्ने कुराको पनि हेक्का राख्नुपर्छ। यो अवसर पनि टीट्वेन्टीको जस्तै खेर जाने हो भने एकदिवसीय टोलीको मान्यता पाउनुको कुनै अर्थ छैन। त्यसका लागि सबैभन्दा पहिले घरमा क्रिकेट चलाउने वैधानिक निकाय चाहियो र, त्यसले द्रुतताका साथ काम थाल्नु जरुरी छ।’अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि ५० ओभरको क्रिकेटमा अहिलेसम्मकै ठूलो उपलब्धि हात पारेको नेपाली टोली सोमबार साँझ नेपाल आइपुगेको हो। सुपर सिक्स चरणमा पुग्न असफल भएसँगै अर्काे वर्ष हुने विश्व खेल्ने अवसर गुमाएको नेपालले पहिलो पटक एकदिवसीय टोलीको मान्यता भने पक्का गरेको छ। आईसीसीको नियमअनुसार नेपालले प्रतियोगितामा सहभागी एसोसिएट टोलीमध्ये शीर्ष तीन (नेदरल्यान्ड्सबाहेक) मा रहँदै एकदिवसीय टोलीको मान्यता प्राप्त गरेको हो।नेपालले प्ले अफको पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय टोलीको मान्यता पाउने बाटो प्रशस्त गरेको थियो। सोही दिनको अर्काे खेलमा नेदरल्यान्ड्सले पनि हङकङलाई पराजित गर्दा नेपालको एकदिवसीय टोलीको मान्यता पक्का बनेको थियो। त्यसपछि भएको सातौं स्थानको प्ले अफ फाइनलमा भने नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो। नेपाली टोलीका ब्याट्सम्यान शरद भेषावकरबाहेकका सदस्य स्वदेश फर्किएका छन्। शरद भने आफ्नो परिवारलाई भेट्न जिम्बावेबाट अमेरिकातर्फ लागेका छन्।
-अन्नपुर्णपोस्टबाट

No comments

Powered by Blogger.