Header Ads

बन्दुकबारे नयाँ कानुन

फ्लोरिडा — अमेरिकाको फ्लोरिडा राज्यले बन्दुक नियन्त्रणका लागि नयाँ कानुन पारित गरेको छ । हाउस अफ रेप्रिजेन्टेटिभ्सले बिहीबार पारित गरेको विधेयकमा बन्दुक किन्न पाउने उमेरलाई १८ देखि २१ वर्ष बनाइएको छ । सिनेटले यसअघि नै पारित गरेको विधयेकलाई राज्यका गभर्नरले पारित गरेपछि कानुनी मान्यता पाउनेछ ।


गत फेब्रुअरी १४ माफ्लोरिडास्थित एक विद्यालयमा गरिएको बन्दुक आक्रमणमा १७ जनाको मृत्यु भएको थियो ।

फ्लोरिडास्थित मार्जोरी स्टोनम्यान डग्लस विद्यालयका पूर्वविद्यार्थी निकोलस क्रुजले गरेको आक्रमणमा १७ जनाको ज्यान गएको थियो । मारिनेमा १४ जना उक्त विद्यालयका विद्यार्थी थिए ।फ्लोरिडाको पार्कल्यान्डस्थित विद्यालयका विद्यार्थीले उक्त गोली प्रहारको घटनापछि अमेरिकामा बन्दुकको स्वामित्वसम्बन्धी कानुनमा कडाइ गर्नुपर्ने माग गर्दै आएका थिए ।

गोलीकाण्डमा बाँच्न सफल विद्यार्थीले मार्च २४ का दिन वासिङ्टनमा ‘हाम्रो जीवनका लागि र्‍याली’ नामक राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको जनाएका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बन्दुक राख्न पाउने पक्षमा वकालत गर्ने राजनीतिज्ञलाई लज्जित बनाउन र्‍यालीको आयोजना गरिन लागेको उल्लेख गरेका छन् ।

फ्लोरिडा गोलीकाण्डका नाइके १९ वर्षीय निकोलस क्रुजले आफूले प्रयोग गरेको अर्ध स्वचालित राइफल कानुनी रूपमै किनेको स्विकारेका थिए । घटनालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा गोलीकाण्डमा ज्यान जोगाउन सफल विद्यार्थीलाई भेटी आफू अमेरिकामा बन्दुकको खरिद नियन्त्रणका लागि कडा कानुन ल्याउनुपर्ने पक्षमा रहेको बताएका थिए । तर २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा उनले बन्दुक नियन्त्रणको विरोधमा बोलेका थिए ।

साभार  - कान्तिपुर


No comments

Powered by Blogger.